३० असार,वीरगञ्ज । जल तथा मौसम विज्ञान विभागले बारासहित देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार बुधबार र बिहीबार सातै प्रदेशका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ। जसका कारण नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई सतर्क रहन विभागले आग्रह गरेको हो।
विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाहीलगायत ३९ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने जनाएको छ।
त्यस्तै, गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीलगायत जिल्लाका साना नदीमा पनि मध्यम जोखिम रहेको विभागले जनाएको छ।
यसैगरी चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत आसपासका साना नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार देशभरका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले नदी किनारका बस्ती, यातायात सञ्चालन गर्ने व्यक्ति तथा सम्बन्धित निकायले विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्।
विभागले आवश्यक अवस्थामा सुरक्षित स्थानमा जान, नदी तथा खोलाको किनारमा अनावश्यक आवतजावत नगर्न र स्थानीय तह तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरेको छ।



















