४ साउन, काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमा लगेको छ । विभागले नयाँ लाइसेन्सको आवेदन, नवीकरण तथा राजस्व भुक्तानी लगायतका सबै काम अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था मिलाएको हो ।
यो व्यवस्था लागू भएसँगै अब सेवाग्राहीहरूले फारम भर्न, औंठाछाप/बायोमेट्रिक दिन र राजस्व तिर्नका लागि यातायात कार्यालय वा बैंकको लामो लाइनमा बस्नुपर्ने सास्तीबाट मुक्ति पाएका छन् । अब सेवाग्राहीहरू स्वास्थ्य परीक्षण (मेडिकल चेकअप) का लागि मात्रै सम्बन्धित यातायात कार्यालयमा भौतिक रूपमा उपस्थित भए पुग्नेछ ।
लाइसेन्स सम्बन्धी डिजिटल सेवालाई थप व्यवस्थित, छरितो र सहज बनाउन विभागले देशका सातै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल निर्माण गरेको छ । सेवाग्राहीले अब आफ्नो सम्बन्धित प्रदेशको आधिकारिक वेबसाइटमा गएर सहजै अनलाइन सेवा लिन सक्नेछन् ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार प्रविधिलाई नागरिकको पहुँचसँग जोड्न राष्ट्रिय परिचयपत्र र नागरिक एपलाई समेत प्रणालीमा एकीकृत गरिएको छ। सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गर्नासाथ आवेदन फारममा व्यक्तिगत विवरणहरू स्वतः ‘अटो-फिल’ हुने व्यवस्था मिलाइएको छ। तर, नागरिक एपमा आबद्ध भइनसकेका नागरिकहरूको हकमा भने साबिककै प्रक्रिया अनुसार आफैँ विवरण भरेर आवेदन दिन सकिने व्यवस्था यथावत् राखिएको निर्देशक खतिवडाले जानकारी दिए।
लाइसेन्सका सबै प्रशासनिक तथा वित्तीय प्रक्रिया अनलाइन प्रणालीमा गएसँगै यातायात क्षेत्रको सेवा प्रवाह सहज, छिटो, पारदर्शी र झन्झटमुक्त हुने विभागको विश्वास छ।
वर्षौँदेखि यातायात कार्यालयहरूमा बिचौलियाको दबदबा र सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य गर्न यो कदम कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। अनलाइन प्रणालीको प्रभावकारी सञ्चालनका लागि विभागले प्राविधिक टोलीसमेत अलर्ट अवस्थामा राखेको जनाएको छ ।




















