Logo

४ साउन, बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक अबोध बालिकाको अकालमा ज्यान गएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवा घर भई केही दिनदेखि चौरहियास्थित मामाघरमा बस्दै आएकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो रहेकी छन्।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५:३० बजे मामाघर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा खेल्ने क्रममा जमेको पानीमा पसेपछि बालिका अकस्मात् डुबेकी थिइन् ।

बालिका पानीमा डुबेको थाहा पाउनासाथ परिवारका सदस्यहरूले तत्कालै उद्धार गरी बाहिर निकालेका थिए। तर, पानी धेरै पसेका कारण उपचारका लागि लैजान नपाउँदै उनको घट्नास्थलमै मृत्यु भइसकेको थियो ।

घटनाको खबर साँझ ६:१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक (असई) राम विद्या साहको कमाण्डमा प्रहरी टोली घट्नास्थल पुगेको थियो ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का टोलीका साथै फरेन्सिक विज्ञसहितको विशेष प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनास्थलको प्राविधिक तथा वस्तुस्थितिको सूक्ष्म अनुसन्धान गरी कानुनी प्रक्रिया पूरा गरेको छ ।

प्रहरीले बालिकाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको छ। घटनाको प्रकृति र अन्य कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मनसुनको समयमा घर वरपरका पानी जमेका साना खाडल र खेतहरूमा बालबालिकालाई एक्लै नछाड्न प्रहरीले अभिभावकहरूलाई आग्रह समेत गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै