४ साउन, वीरगञ्ज । गर्मीको मौसममा विद्यालयमा अध्ययनरत साना बालबालिकाहरूको अध्ययनलाई सहज बनाउन उपकार सेवा नेपालले वीरगञ्जमा पंखा सहयोग गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं. ३२, टेढास्थित श्रीमती मनमिश्र आधारभूत विद्यालय सेमरामा बालविकास कक्षामा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गरी पङ्खा उपलब्ध गराइएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिएका हुन् ।
संस्थाको सम्पूर्ण आर्थिक सहयोगमा दुई वटा बालविकास कक्षाकोठाको सिलिङमा जडान गर्ने गरी ४ थान सिलिङ पङ्खा एक विशेष कार्यक्रमका बिच विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको थारुले बताए । पङ्खा जडान भएसँगै बालविकास तहका ९८ जना साना विद्यार्थीहरूलाई गर्मीबाट राहत मिल्ने भएको छ।
विद्यालय परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा संस्थाकी संरक्षक पद्मा देवी सरावगीले विद्यालयका प्रधानाध्यापक राजाराम साहलाई पङ्खा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता थारू लगायत विद्यालयका शिक्षक-शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूको उपस्थिति रहेको थियो । पङ्खा प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक साहले साना बालबालिकाहरूको पठनपाठनमा पङ्खाले ठुलो सहयोग पुर्याउने भन्दै संस्थाप्रति आभार व्यक्त गरे । सामाजिक क्षेत्रमा सक्रिय उपकार सेवा नेपालले आगामी दिनमा पनि यस्तै सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।




















