Logo

४ साउन,चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई स्थानमा खसेको पहिरो पन्छाइए पनि धादिङतर्फ सडक अवरुद्ध रहेकाले राजमार्गमा सवारी आवागमन अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।

आज बिहान इच्छाकामना गाउँपालिका–२ को फिस्लिङस्थित पानीधारा र चुमखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। डोजरको सहायताले पहिरो पन्छाइएपछि बिहान ९ः३० बजेदेखि उक्त खण्ड सञ्चालनमा आएको छ।

तर, धादिङको जवाङ खोलामा पहिरो झरेर सडक अवरुद्ध रहेकाले चितवनतर्फको सडक खुले पनि सवारीसाधन आवागमन सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकिएको छ। यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फ जाने र आउने सवारी भने बिहानैदेखि सञ्चालनमा रहेका छन्।

लगातार वर्षाका कारण पहिरो खस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले गएरातिदेखि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। रातिदेखि रोकिएका सवारीसाधन अझै गन्तव्यतर्फ जान नसक्दा सडकमा लामो सवारी जाम लागेको छ।

प्रहरी र सम्बन्धित निकायले धादिङतर्फको पहिरो पन्छाउने कार्य जारी रहेको जनाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै