Logo

४ साउन, काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको वर्तमान गठबन्धनलाई नै निरन्तरता दिँदै आगामी साउन १५ गतेभित्र मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी तीव्र पारिएको छ ।

हाल कायम रहेका १२ वटा मन्त्रालयलाई घटाएर ९ वटा मात्रै बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको गठबन्धनका नेताहरूले बताएका छन् । अर्को वर्ष स्थानीय तथा प्रदेश सभाको निर्वाचन हुने भएकाले अहिले सरकार फेरबदल गर्नुभन्दा विद्यमान गठबन्धनलाई नै मजबुत बनाउने सहमति दलहरूबीच भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिएका छन् ।

नयाँ सहमति अनुसार १२ वटा मन्त्रालयमा ३र४ भागबन्डा मिलाउँदै आएका तीन वटै दलले अब मन्त्रालय संख्या घटेसँगै नयाँ सिट बाँडफाँट गर्ने भएका छन्। जसअनुसार कांग्रेस र एमालेले ३र३ वटा मन्त्रालय लिनेछन् भने नेपाली कम्युनिस्ट पार्टीले २ वटा मन्त्रालय पाउनेछ। बजेट आइसकेको अवस्थामा एक वर्ष कार्यकाल पूरा गरेका पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारहरू सरकारमा पठाउने तयारी नेकपाका प्रदेश सभा सदस्य रत्नेश्वर गोइत यादवले बताएका छन् ।

यसअघि वन र पर्यटनलाई गाभ्ने, वाणिज्यलाई गृहमा जोड्ने तथा शिक्षालाई सामाजिक विकास मन्त्रालय अन्तर्गत राख्ने गरी मन्त्रालय मर्ज गर्ने आन्तरिक खाका तयार भइसकेको छ ।

यसैबीच, मधेस सरकारले चालु आर्थिक वर्षका विकास निर्माण तथा योजनासम्बन्धी सबै कामहरू उपभोक्ता समितिको साटो खुला प्रतिस्पर्धाबाटै गराउने निर्णय गरेको छ ।

विगतमा उपभोक्ता समितिबाट हुने कामहरूमा अत्यधिक विवाद, भ्रष्टाचार र गुणस्तरहीन कामको जनगुनासो बढेपछि सरकारले यो प्रणालीमा सुधार गर्दै भदौ महिनादेखि नै टेन्डर प्रक्रियामार्फत योजनाहरूको कार्यान्वयन अघि बढाउने भएको छ ।


सम्बन्धित समाचार
भर्खरै