४ साउन,वीरगञ्ज । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रगतले लतपत भएको शंकास्पद बोरा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
हनुमान मन्दिर नजिक सोमबार उक्त बोरा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार बोराभित्र के रहेको भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी बोरा खोल्ने र त्यसपछि थप अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति, कारण तथा बोराभित्र रहेको वस्तुबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले आधिकारिक विवरण सार्वजनिक नभएसम्म कुनै पनि प्रकारका हल्ला वा अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




















