Logo

२१ जेठ, माडी (चितवन) । माडीको बसन्तपुरमा हालै सम्पन्न “माडी मौलिक सांस्कृतिक उत्सव २०८३” ले मौलिक संस्कृति, सामाजिक सद्भाव र सामुदायिक एकताको सशक्त सन्देश दिएको छ ।

स्थानीय सरकारको प्रवर्द्धन तथा माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न उत्सवलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समूह, युवा क्लब, जातीय तथा सामाजिक संघसंस्था, जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तीमध्ये माडी नगरपालिका–३, इनार बरुवास्थित लिबर्टी युवा क्लबले देखाएको सामाजिक उत्तरदायित्वपूर्ण कार्य यतिबेला विशेष चर्चाको विषय बनेको छ ।

विगत लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको क्लबलाई पुनः चलायमान बनाउने उद्देश्यले २०८३ जेठ १३ गते बसेको बैठकबाट नयाँ कार्यसमिति चयन गरिएको थियो । नयाँ नेतृत्व आएपछि सामाजिक तथा सामुदायिक गतिविधिलाई प्राथमिकतामा राख्दै क्लबले आफ्नो सक्रियता बढाएको थियो । त्यसकै निरन्तरतास्वरूप मौलिक सांस्कृतिक उत्सवमा सहभागी हुन आएका हजारौँ आगन्तुक तथा श्रद्धालु भक्तजनलाई निःशुल्क भेली–पानी वितरण गरी क्लबले आफ्नो सामाजिक दायित्वलाई व्यवहारमै उतारेको हो ।

लिबर्टी युवा क्लबका अध्यक्ष रामप्रसाद महतोले भने “माडीमा चैते दशैंको अवसरमा लाग्ने मेलामा आजभन्दा करिब ६० वर्षअघि देखिनै श्रद्धालु भक्तजनलाई भेली–पानी खुवाउने परम्परा रहँदै आएको छ । हाम्रा पुर्खाहरूले त्यतिबेला भारमा पानी बोकेर मेलामा आउने भक्तजनलाई सेवा दिनुहुन्थ्यो । अहिले गाउँमा ठाउँ–ठाउँमा धारा पुगेपछि काम सहज भएको छ । तर सेवा गर्ने संस्कार भने उस्तै छ ।” पुर्खाले थालेको परोपकारी कार्यलाई निरन्तरता दिने उद्देश्यले नै हामीले यस उत्सवमा पनि करिब एक हजार जना आगन्तुकलाई निःशुल्क भेली–पानी वितरण गरेका अध्यक्ष महतोले बताए ।

उनले समुदायको सक्रिय सहभागितामा गोद्धक मेलास्थलमा श्रद्धालु भक्तजनको सुविधाका लागि पक्की टहरा निर्माण गरिएको जानकारी दिँदै आगामी दिनमा पनि सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिइने बताए ।

क्लबका सचिव मनोज महतोले यस्ता सामाजिक कार्यले युवाहरूमा सकारात्मक सोच र सेवाभावको विकास गर्ने बताउनुभयो । “समुदायका लागि निस्वार्थ सेवा गर्न पाउँदा बेग्लै आनन्द महसुस हुन्छ । समाजले दिएको माया र सम्मान नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो । यस्ता कार्यले युवाहरूलाई जिम्मेवार बनाउनुका साथै समाजलाई पनि एकताबद्ध बनाउँछ,” उनले भने ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले मौलिक सांस्कृतिक उत्सवका क्रममा लिबर्टी युवा क्लबले गरेको कार्य अनुकरणीय रहेको बताए । “स्थानीय सरकारको प्रवर्द्धन र माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भइरहेको उत्सवमा युवाहरूले संस्थागत रूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आगन्तुकको सेवामा समर्पित हुनु अत्यन्त सकारात्मक पक्ष हो । यस्ता कार्यले समाजमा सहयोग, सद्भाव र सामाजिक जिम्मेवारीको संस्कारलाई अझ मजबुत बनाउँछ,” भुसालले बताए ।

माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले उत्सवको सफलता कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभएको उल्लेख गरे । “टोल विकास संस्था, आमा समूह, युवा क्लब, विभिन्न जातजातिका संस्था, सामाजिक संघसंस्था, जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण माडीबासीको साथ, सहयोग र सक्रिय सहभागिताले नै हामीलाई यो उत्सव सम्पन्न गर्ने ऊर्जा मिलेको हो । समुदायको यही एकता र सहकार्यले माडीको मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धनको अभियानलाई थप बलियो बनाएको छ,” उनले बताए ।

मौलिक सांस्कृतिक उत्सवले माडीको सांस्कृतिक विविधता, परम्परा र सामाजिक एकतालाई उजागर गर्नुका साथै समुदायमा रहेको सेवाभाव, सहकार्य र सामाजिक उत्तरदायित्वको संस्कारलाई समेत जीवन्त बनाएको छ । विशेषगरी लिबर्टी युवा क्लबले पुर्खाबाट प्राप्त सेवामूलक परम्परालाई नयाँ पुस्तामाझ निरन्तरता दिँदै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीयवासीहरूले प्रशंसा गरेका छन् । समुदायले आफ्नो मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण गर्दै अगाडि बढ्दा यस्ता उत्सव केवल कार्यक्रममा सीमित नरही समाजका लागि प्रेरणादायी इतिहास बन्ने विश्वास व्यक्त गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै