Logo

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा गम्भीर आन्तरिक सङ्कट चुलिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले बिहीबार सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । महामन्त्री डा. धवलशमशेर राणा निकट मानिने मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ र नारायण प्रसाद कोइरालालगायतका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेसँगै राप्रपाको राजनीतिक धरातल थप कमजोर बनेको छ ।

पदाधिकारी, कार्यसम्पादन समिति सदस्य र केन्द्रीय सदस्यहरूसहितको यो ठूलो सङ्ख्याको बहिर्गमनलाई उनीहरूले ‘पार्टी परित्यागको पहिलो चरण’ भन्दै नेतृत्वलाई कडा चुनौती दिएका छन् ।

पार्टी छाड्नेहरूको समूहले अध्यक्ष लिङ्देनमाथि वैचारिक विचलन र हिनताबोधको आरोप लगाएको छ । विशेष गरी, पार्टीको मूल एजेन्डा ‘राजसंस्था पुनर्स्थापना’ का लागि सशक्त आन्दोलन गर्नुपर्नेमा नेतृत्व नै आन्दोलन तुहाउन सक्रिय रहेको र संसद्मा संवैधानिक राजसंस्थाको पक्षमा प्रस्तावसम्म दर्ता गर्न नसकेको उनीहरूको गम्भीर आरोप छ ।

नेतृत्वले केन्द्रीय समितिसँग कुनै परामर्श नगरी ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने सरकारी न्यूनतम साझा कार्यक्रममा सहमति जनाएको विषयलाई उनीहरूले राप्रपाको सिद्धान्तविपरीतको ‘घातक कदम’ भनेका छन् ।

आफ्नो विज्ञप्तिमा उनीहरूले नेतृत्वको स्वेच्छाचारिता, आत्मकेन्द्रित कार्यशैली र नेता–कार्यकर्तामाथिको निरंकुश कारवाहीका कारण राप्रपा स्थापनाको मुख्य उद्देश्य नै धरापमा परेको उल्लेख गरेका छन् ।

जनताको बलमा राजनीति गर्ने दाबी गरे पनि नेतृत्वको भनाइ र गराइमा तालमेल नमिलेको र पार्टी क्रमशः दण्डित हुँदै गएको भन्दै उनीहरूले अब राप्रपामा बस्नुको कुनै औचित्य नरहेको निष्कर्ष निकालेका छन् । यो सामूहिक राजीनामाले आगामी दिनमा राप्रपाको राजनीतिमा ठूलो हलचल पैदा गर्ने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै