२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने तयारी थाल्नुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित एक भेलामा राप्रपा नेतृत्वविरुद्ध कडा आक्रोश पोख्दै उहाँले पछिल्लो चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी रहेको बताउनुभयो। राप्रपालाई सही मार्गमा लैजान र एजेन्डा स्थापित गर्न आफूले गरेको अथक प्रयासलाई नेतृत्वले नै अवरोध गरेको आरोप लगाउँदै उहाँले वर्तमान नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो ।
आफूले नेतृत्व सुधार्न पटक–पटक गरेको प्रयास विफल भएपछि र पार्टी ‘मक्किएको घर’ जस्तै बनेको निष्कर्ष निकाल्दै, उहाँले नयाँ र बलियो ‘राष्ट्रवादी घर’ निर्माण गर्ने संकल्प गर्नुभएको छ।
डा। राणाको नेतृत्वमा १८३ जना नेताले सामूहिक राजीनामा दिँदै नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। राणाले आफूले स्थापना गर्न लागेको नयाँ दलको मुख्य वैचारिक आधार ‘राजासहितको प्रजातन्त्र’ र ‘हिन्दू राष्ट्र’ हुने स्पष्ट पार्नुभएको छ । राप्रपा नेतृत्वले आन्तरिक लोकतन्त्रको उपेक्षा गरेको र पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको भन्दै उहाँले विद्रोहको बाटो रोज्नुभएको हो ।
आगामी दिनमा दुर्गा प्रसाईं नेतृत्वको अभियानसहित अन्य राष्ट्रवादी र हिन्दूवादी शक्तिहरूलाई समेटेर एक बृहत् तथा शक्तिशाली राष्ट्रवादी ध्रुव निर्माण गर्ने उहाँको योजना छ ।
नेतृत्वले समयमै महाधिवेशन गर्न चासो नदेखाएको र पार्टीको साख निरन्तर खस्कँदै गएकाले आफूहरू घर छोडेर नयाँ बाटोमा लाग्न बाध्य भएको उहाँको तर्क छ। पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नहुने भन्दै उहाँले अब युवा र महिला नेतृत्वलाई प्राथमिकता दिँदै सुशासन र रोजगारीलाई नयाँ पार्टीको प्रमुख प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको छ ।
राप्रपाको राजनीतिमा लामो समयदेखि सक्रिय राणाको यो विद्रोहले राजावादी राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ भने अन्य राष्ट्रवादी शक्तिहरूसँगको गठजोडले आगामी दिनमा नेपाली राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्ला, त्यो भने हेर्न बाँकी नै छ ।

















