Logo

 २५ जेठ,काठमाडौं । विश्व फुटबल महासंघ (FIFA) ले आगामी विश्वकपका लागि ‘ट्रियोन्डा’ नामक आधिकारिक खेल बल सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त यो बलले खेलको निष्पक्षता र रेफ्रीको निर्णयलाई थप सटीक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

ट्रियोन्डाको सबैभन्दा महत्वपूर्ण विशेषता यसको स्मार्ट मोसन सेन्सर प्रविधि हो। बलभित्र जडान गरिएको सेन्सरले बलको गति, घुमाइ तथा खेलाडीले छोएको क्षणसमेत रियल टाइममा ट्र्याक गरी डेटा उपलब्ध गराउँछ।

फिफाका अनुसार यो प्रविधिले भिडियो असिस्टेन्ट रेफ्री (VAR) प्रणालीलाई निर्णय लिन महत्वपूर्ण सहयोग पुर्‍याउनेछ। यसबाट खेलका क्रममा हुन सक्ने रेफ्रीका त्रुटिहरू न्यून हुने विश्वास गरिएको छ।

बलभित्र रहेको १४ ग्राम तौलको आन्तरिक मोसन सेन्सरले प्रतिसेकेन्ड ५०० पटकसम्म बलको चाल, घुमाइ र स्पर्श बिन्दुको जानकारी संकलन गर्न सक्छ। उक्त सेन्सर आफैं चार्ज हुने ब्याट्रीमार्फत सञ्चालन हुने व्यवस्था गरिएको छ।

बलको केन्द्रभागमा राखिएको सेन्सरले बलको सन्तुलन कायम राख्नुका साथै उडानका क्रममा स्थिरता प्रदान गर्ने फिफाले जनाएको छ।

ट्रियोन्डाको चार-प्यानल डिजाइन र विशेष रंग संयोजनले प्रतियोगिताका तीन आयोजक राष्ट्रहरूको प्रतिनिधित्व गर्ने गरी तयार पारिएको छ।

फिफाले यो बललाई ‘अफिसियल म्याच बल’को मान्यता दिएको छ र विश्वकपका सम्पूर्ण खेलमा यही बल प्रयोग गरिनेछ।


सम्बन्धित समाचार
भर्खरै