२५ जेठ,काठमाडौं । प्रदेशलाई पूर्ण स्वायत्तता दिनुपर्ने लगायत विभिन्न माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
यसअघि सरकारसँग भएको ८ बुँदे सम्झौताको कार्यान्वयनको माग गर्दै जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा राख्नुपर्ने लगायतका माग अघि सारेको हो।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र नेपाल प्रहरीलाई पनि प्रदेश मातहत ल्याउनुपर्ने, नेपाली सेनामा मधेशी तथा थारु समुदायको सामूहिक भर्ना गर्नुपर्ने तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गरेका छन्।
यस्तै, वैदेशिक रोजगारीको समस्या समाधान, किसानलाई समयमै मलखाद तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था, चुरे क्षेत्रको दोहन र अतिक्रमण नियन्त्रण गर्नुपर्ने लगायतका माग पनि प्रदर्शनमार्फत उठाइएको छ।
प्रदर्शनमा सहभागीहरूले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुम्बासी तथा अल्पसंख्यक समुदायमाथि भइरहेको दमन, शोषण र विभेद अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार पार्टीको दुईदिने केन्द्रीय समिति विस्तारित बैठक पनि काठमाडौंमा जारी छ। जेठ २४ र २५ गते सञ्चालन भइरहेको बैठकले पछिल्लो निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा नयाँ रणनीतिका साथ पार्टीलाई अघि बढाउने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
केन्द्रीय सदस्यसमेत रहेका सरार्फले बैठकबाट पार्टीलाई थप सशक्त र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू हुने बताए।

















