Logo

२५ जेठ, काठमाडौँ । धितोपत्रको प्राथमिक बजारमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पुँजी परिचालनको आकारमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को पछिल्लो प्रतिवेदनअनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म कुल ५० वटा सङ्गठित संस्थाहरूलाई ६० अर्ब ६८ करोड २२ लाख रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति प्रदान गरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४५ वटा संस्थाले ४३ अर्ब ४५ करोड रुपैयाँ बराबरको निष्कासन स्वीकृति पाएका थिए, जसले यस वर्ष पुँजी परिचालनको समग्र आकारमा सुधार भएको देखाउँछ ।

बोर्डबाट प्राप्त विवरणअनुसार, यस अवधिमा आठवटा संस्थाले साधारण शेयर (आइपिओ) मार्फत २ अर्ब २३ करोड रुपैयाँ बराबरको निष्कासन अनुमति पाएका छन् भने ९ अर्ब ११ करोड ८७ लाख रुपैयाँ बराबरको साधारण शेयर परिचालन भएको छ ।

त्यसैगरी, १३ वटा संस्थाले हकप्रद शेयरतर्फ १३ अर्ब ५१ करोड रुपैयाँ र चारवटा संस्थाले थप शेयर निष्कासन (एफपिओ) तर्फ १० करोड ७३ लाख रुपैयाँ बराबरको अनुमति प्राप्त गरेका छन् । साथै, ऋणपत्रतर्फ पाँचवटा कम्पनीले १५ अर्ब ८० करोड रुपैयाँ र १५ वटा सामूहिक लगानी योजना (म्युचुअल फन्ड) ले ११ अर्ब ८० करोड रुपैयाँ बराबरको एकाइ निष्कासनको अनुमति पाएका छन् ।

यस वर्षको अर्को उल्लेखनीय पक्ष भनेको पुँजी बजारमा देखिएको उपकरणगत विविधीकरण हो। चालु आर्थिक वर्षमा विगतका वर्षहरूमा शून्य रहेको ुअविमोच्य अंसचिति अग्रवाधिकार शेयरु मार्फत पहिलोपटक १६ अर्ब ८५ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको तथ्याङ्कले देखाएको छ ।

विगतका आर्थिक वर्षहरूसँग तुलना गर्दा पुँजी परिचालन गर्ने सङ्गठित संस्थाहरूको सङ्ख्यामा केही कमी आए पनि बजारमा विभिन्न नयाँ वित्तीय उपकरणहरूको प्रयोग बढ्नुलाई सकारात्मक रूपमा लिइएको छ ।


सम्बन्धित समाचार
भर्खरै