Logo

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया लम्बिएपछि प्रतिनिधिहरू घर फर्किन थालेका छन् ।

मंगलबारबाट सुरु भएको अधिवेशन बुधबार बिहानसम्म पनि मतदान प्रक्रियामा प्रवेश गर्न नसकेपछि अधिकांश प्रतिनिधि निराश भई बाहिरिएका हुन् ।

अधिवेशनको कार्यतालिका अनुसार मंगलबार नै मतदान सम्पन्न गर्ने योजना थियो । तर, सभापति पदका लागि उम्मेदवारी दिएका चार जना (अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री) का लागि समयमै मतपत्र छपाइ नहुँदा र निर्वाचन समितिको व्यवस्थापकीय कमजोरीका कारण मतदान प्रक्रिया अवरुद्ध भएको हो । हेटौंडामा रहेका एक प्रतिनिधिको दाबीअनुसार प्रक्रिया सुरु हुन ढिलाइ भएपछि करिब ७० प्रतिशतभन्दा बढी प्रतिनिधि घर फर्किसकेका छन् ।

यस घटनालाई लिएर प्रतिनिधिहरूले संगठन विभागका पदाधिकारीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । यता संगठन विभागका सचिव शंकर श्रेष्ठले भने मतपत्र छपाइमा समय लागेका कारण प्राविधिक ढिलाइ भएको स्वीकार्दै मतदान प्रक्रिया जसरी पनि अगाडि बढ्ने बताएका छन् ।

१३ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेको रास्वपाको यस पहिलो प्रदेश अधिवेशनको व्यवस्थापनमा देखिएको अलमलले पार्टीभित्रको आन्तरिक तयारीमा गम्भीर प्रश्न खडा गरेको छ ।


सम्बन्धित समाचार