२७ जेठ,वीरगञ्ज । आधुनिक जीवनशैली, प्रविधिको बढ्दो प्रयोग र खुला वातावरणमा खेल्ने समय घट्दै जाँदा बालबालिकामा आँखासम्बन्धी समस्या तीव्र रूपमा बढ्न थालेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी गाउँको तुलनामा शहरका बालबालिकामा दृष्टिदोषको समस्या बढी देखिन थालेको भन्दै विशेषज्ञहरूले अभिभावकलाई सचेत रहन आग्रह गरेका छन्।
पछिल्लो समय बालबालिकाले लामो समयसम्म मोबाइल, ट्याबलेट, ल्यापटप तथा टेलिभिजनको प्रयोग गर्ने प्रवृत्ति बढेसँगै आँखामा विभिन्न समस्या देखिन थालेका छन्। चिकित्सकहरूका अनुसार टेलिभिजन नजिकबाट हेर्ने, घण्टौंसम्म मोबाइल चलाउने तथा खुला वातावरणमा पर्याप्त समय नबिताउने बालबालिकामा दृष्टिदोषको जोखिम बढ्दै गएको छ।
वीरगञ्जस्थित दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालका नेत्ररोग विशेषज्ञ डा. हरी शर्माका अनुसार पछिल्ला केही वर्षयता बालबालिकामा आँखाको समस्या लिएर अस्पताल आउनेको संख्या निरन्तर बढिरहेको छ। अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म बालबालिका आँखासम्बन्धी समस्या लिएर उपचारका लागि आउने गरेको उनले बताए।
“सानै उमेरका बालबालिकामा पनि दृष्टिदोषको समस्या बढ्दै गएको छ,” डा. शर्माले भने, “अस्पतालमा आउने बिरामी र विभिन्न शिविरमार्फत पहिचान भएका बालबालिकाको तथ्यांक हेर्दा मायोपियाका बिरामी निरन्तर बढिरहेका छन्।”

के हो मायोपिया ?
मायोपिया अर्थात् नजिकको वस्तु स्पष्ट देखिने तर टाढाको वस्तु धमिलो देखिने दृष्टिदोष हो। लामो समयसम्म नजिकको वस्तुमा मात्र ध्यान केन्द्रित गर्दा आँखाको आकार परिवर्तन हुँदै जान्छ र यसको प्रभाव दृष्टिमा पर्न थाल्छ।
विशेषज्ञहरूका अनुसार मायोपिया बढ्दै जाँदा बालबालिकाले विद्यालयमा बोर्डमा लेखिएको कुरा स्पष्ट देख्न सक्दैनन्। समयमै उपचार तथा आवश्यक चस्माको प्रयोग नगरेमा भविष्यमा दृष्टि कमजोर हुँदै जाने जोखिम रहन्छ।
डा. शर्माका अनुसार मायोपिया केवल सामान्य दृष्टिदोष मात्र नभई केही अवस्थामा आँखाको पर्दामा समेत असर पु¥याउन सक्छ। बेलैमा पहिचान र उपचार गर्न नसकिए दृष्टि गुम्ने खतरा पनि रहन्छ।
विश्वव्यापी रूपमा बढ्दो समस्या
मायोपिया नेपालमा मात्र नभई विश्वव्यापी चुनौतीका रूपमा देखा परेको छ। हाल विश्वका करिब २० देखि ३० प्रतिशत मानिसमा मायोपियाको समस्या रहेको विभिन्न अध्ययनले देखाएका छन्।
नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित अध्ययनअनुसार सन् २०५० सम्म विश्वको करिब ५० प्रतिशत जनसंख्या मायोपियाबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ। कतिपय अवस्थामा मायोपिया वंशाणुगत वा प्याथोलोजिकल कारणले पनि हुने भए पनि अधिकांशमा जीवनशैली र वातावरणीय कारण प्रमुख रहेको चिकित्सकहरू बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्यांकअनुसार हाल विश्वभर करिब २ अर्ब ६० करोड मानिस कुनै न कुनै प्रकारको आँखासम्बन्धी समस्याबाट प्रभावित छन्। सन् २०५० सम्म यो संख्या बढेर ५ अर्ब पुग्ने अनुमान गरिएको छ। तीमध्ये करिब १० प्रतिशतमा गम्भीर दृष्टिविहीनताको समस्या हुन सक्ने आँकलन गरिएको छ।
अभिभावकलाई सचेत रहन सुझाव
रामकुमार महावीर प्रसाद ‘केडिया आँखा अस्पताल’ का नेत्ररोग विशेषज्ञ डा. बीडी चौरसियाले बालबालिकालाई दैनिक कम्तीमा दुईदेखि तीन घण्टा खुला वातावरणमा खेल्न दिनुपर्ने बताए।
“बालबालिकाको आँखामा प्राकृतिक प्रकाश पुग्नु अत्यन्त आवश्यक छ,” उनले भने, “मोबाइल र स्क्रिनको प्रयोग सीमित गर्नुपर्छ। अभिभावकले बालबालिकालाई व्यस्त राख्ने नाममा मोबाइल दिने बानी हटाउनुपर्छ।”
उनका अनुसार नियमित आँखाको परीक्षण पनि उत्तिकै महत्वपूर्ण छ। प्रत्येक ६ महिनामा एकपटक आँखाको परीक्षण गर्न सके राम्रो हुने र नसके कम्तीमा वर्षमा एकपटक अनिवार्य रूपमा जाँच गराउनुपर्ने उनले सुझाव दिए।
“आँखामा समस्या देखिएपछि मात्र होइन, अन्य रोगका कारण पनि दृष्टिमा असर पर्न सक्छ,” उनले भने, “त्यसैले नियमित परीक्षणले भविष्यमा हुन सक्ने गम्भीर समस्याबाट बच्न मद्दत गर्छ।”

छुट्टै बाल नेत्र सेवा सञ्चालन
केडिया आँखा अस्पतालले बालबालिकाको आँखासम्बन्धी समस्या पहिचान र उपचारका लागि छुट्टै बाल नेत्र सेवा सञ्चालन गर्दै आएको छ। उक्त विभागमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।
विशेषज्ञहरूका अनुसार सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा, खुला वातावरणमा समय बिताउने बानी तथा डिजिटल उपकरणको सीमित प्रयोगले बालबालिकाको आँखाको स्वास्थ्य जोगाउन मद्दत पु¥याउँछ।
बदलिँदो जीवनशैलीसँगै बालबालिकामा बढ्दै गएको मायोपिया र अन्य दृष्टिदोषका समस्यालाई समयमै नियन्त्रण गर्न अभिभावक, विद्यालय र स्वास्थ्य क्षेत्रबीच समन्वित प्रयास आवश्यक रहेको चिकित्सकहरूको निष्कर्ष छ। यदि अहिलेबाटै सावधानी नअपनाइए आगामी दशकमा आँखासम्बन्धी समस्या अझ गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिन सक्ने उनीहरूको चेतावनी छ।


















