Logo

२७ जेठ,काठमाडौं । प्रतिनिधि सभामा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप रवि लामिछाने ले बुधबार विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन्।

संसद्को गतिरोध हटाउने उद्देश्यले भएको छलफलमा भीष्म आङदेम्बे सहित नेपाली कांग्रेसका सांसदहरू, नेकपा एमालेका केही सांसद, वर्षमान पुन तथा खुश्बु ओली लगायतको सहभागिता रहेको बताइएको छ।

छलफलपछि विपक्षी दलहरू केही लचिलो देखिएको स्रोतहरूले जनाएका छन्। संसद् अवरोध अन्त्यका लागि सहमति खोज्ने प्रयास जारी रहेको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह ले जेठ १७ गते दिएको नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

यसअघि पनि लामिछानेले विपक्षी दलका नेताहरूसँग छुट्टै छलफल गरेका थिए। उनले प्रधानमन्त्रीको सट्टा आफूले संसद्मा जवाफ दिन तयार रहेको भन्दै सदनको अवरोध हटाउन आग्रह गरेका थिए।

उता, विपक्षी दलहरूसँग जारी परामर्शका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक निर्धारित समयमा बस्न नसकी दिउँसो साढे १ बजेसम्म स्थगित भएको छ।

संसद्को अवरोध अन्त्यका लागि दलहरूबीच संवाद जारी रहेकाले सहमतिको सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा छ।


सम्बन्धित समाचार