Logo

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउन गरिएको प्रयास पुनः एकपटक विफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनको गतिरोध अन्त्य गर्ने उद्देश्यले विपक्षी दलका नेताहरूसँग गरेको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे, नेकपा (एमाले) का रामबहादुर थापा ‘बादल’ र नेकपाका वर्षमान पुन लगायतका प्रमुख नेताहरूको उपस्थिति रहे पनि प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सहमति जुट्न सकेन ।

वार्ताका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा स्पष्टीकरण दिने प्रस्ताव राखेका थिए । तर, विपक्षी दलहरूले उक्त प्रस्तावमा असहमति जनाउँदै प्रधानमन्त्री शाहले नै लिखित रूपमा आफ्नो धारणा संसद्मा पेस गर्नुपर्ने अडान दोहोर्‍याए ।

विपक्षी नेताहरूको भनाइ थियो— ‘प्रधानमन्त्रीको लिखित धारणा जुनसुकै मन्त्रीले पढे पनि मान्य हुनेछ ।’ लामिछानेले उक्त प्रस्तावलाई अस्वीकार गरेपछि सत्तापक्ष र विपक्षबीचको संवादले कुनै निकास पाउन सकेन ।

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भन्दै दिएको विवादास्पद अभिव्यक्तिले यतिबेला संसद्को दुवै सदन ठप्प छ । विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।

वार्ता निष्कर्षमा नपुगेपछि अहिले विपक्षी दलहरू कांग्रेस, एमाले र नेकपाका नेताहरू छुट्टै रणनीति बनाउन छलफलमा जुटेका छन् । यसले संसद्को गतिरोध अझ लम्बिने संकेत गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै