२७ जेठ,भरतपुर । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवाग्राहीबाट प्राप्त गुनासा र सुझावका आधारमा सेवा प्रवाह सुधारका लागि सात बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
अस्पताल प्रशासन र सेवाग्राहीबीच भएको छलफलपछि सार्वजनिक गरिएको उक्त योजना उपचार सेवालाई थप व्यवस्थित, प्रभावकारी र बिरामीकेन्द्रित बनाउने उद्देश्यमा केन्द्रित रहेको अस्पतालले जनाएको छ।
अस्पतालद्वारा जारी सूचनामा सेवा प्रवाहका क्रममा देखिएका समस्या र सेवाग्राहीका सुझावलाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै व्यवस्थापन प्रणालीलाई थप चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्ययोजनाअनुसार कर्मचारीहरूको समयपालन, अनुशासन र सेवाप्रतिको उत्तरदायित्वलाई प्रभावकारी बनाइने, तथा बिरामीले सहज, सम्मानजनक र छिटो सेवा पाउने वातावरण तयार गरिनेछ।
त्यस्तै टिकट वितरण तथा टोकन प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाइने, तथा लामो समय कुर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
अस्पतालभित्र सम्भव हुने सबै जाँच तथा परीक्षण सेवा अस्पतालमै उपलब्ध गराउने नीति लिइएको छ। अत्यावश्यक र विशेष प्रकृतिका परीक्षण बाहेकका सेवाहरू आफ्नै प्रणालीबाट सञ्चालन गरिने जनाइएको छ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीहरूको व्यवहार सुधारमा पनि विशेष ध्यान दिइनेछ। गुनासो आएमा नियमानुसार छानबिन गरी आवश्यक कदम चालिने तथा अनुगमन संयन्त्रलाई सक्रिय बनाइने अस्पतालले स्पष्ट पारेको छ।
त्यस्तै अस्पताल फार्मेसीमार्फत औषधि उपलब्धता बढाउने, उपचारका क्रममा औषधि अभावको समस्या घटाउने र बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउने योजना अघि सारिएको छ।
मेडिसिन वार्डसहित विभिन्न विभागमा देखिएको बेड अभावलाई क्रमशः समाधान गर्ने लक्ष्य राखिएको छ। हाल अस्पतालमा ५०० शय्याको क्षमता भए पनि बिरामीको चाप बढ्दै गएकाले विस्तार आवश्यक भएको उल्लेख गरिएको छ।
स्वास्थ्य बीमा तथा विपन्न नागरिक लक्षित सेवामा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वयलाई प्रभावकारी बनाइने र बीमा सेवा प्रक्रियालाई सेवाग्राहीमैत्री बनाइने अस्पतालले जनाएको छ।
सूचना अधिकारी गृहीनारायण महतोका अनुसार अस्पतालमा दैनिक एक हजारदेखि १४ सयसम्म बिरामीले ओपीडी सेवा लिने गरेका छन्। उनले बिरामीको स्वास्थ्यलाई केन्द्रमा राखेर छिटो, छरितो र गुणस्तरीय सेवा दिन प्रशासन प्रतिबद्ध रहेको बताए।
उनका अनुसार हालको नयाँ व्यवस्थापन संरचनाका कारण केही प्रशासनिक चुनौती देखिए पनि कर्मचारी संयन्त्रले सेवा प्रवाह निरन्तर राखेको छ।
देशकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा परिचित यस अस्पतालले अघि सारेका सुधार कार्ययोजना व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने विषयले अब सेवाग्राहीको विश्वास निर्धारण गर्ने अपेक्षा गरिएको छ।


















