Logo

२९, जेठ काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपाबाट डाक्टरको सिफारिसबिना औषधि बिक्री–वितरण गरेको आरोपमा दुई औषधि पसलका सञ्चालकसहित चार जना पक्राउ परेका छन् ।

बनेपा नगरपालिका–७ चारदोबाटोस्थित नातीकाजी प्लाजामा रहेका दुई फार्मेसीमा अनुगमनका क्रममा चिकित्सकको सिफारिसविना औषधि बिक्री भइरहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्टका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५, भक्तपुरका ५० वर्षीय बरदाराम भैल (शुभम फार्म सञ्चालक) र महांकाल गाउँपालिका–५, ललितपुरका ३३ वर्षीय विनोद बञ्जारा (मेडी सेवा फार्म सञ्चालक) रहेका छन् ।

त्यस्तै, शुभम फार्मबाट औषधि खरिद गर्ने पनौती नगरपालिका–७ का २२ वर्षीय सागर आले मगर र मेडी सेवा फार्मबाट औषधि खरिद गर्ने धुलिखेल नगरपालिका–७ का २६ वर्षीय सुनिल थामी पनि पक्राउ परेका छन् । अनुगमनका क्रममा शुभम फार्मबाट स्पास्पेन नामक ३१२ चक्की तथा पिगेरोन १५० नामक २१ चक्की बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मेडी सेवा फार्मबाट एन्टिकफ ८५ चक्की, डाइक्लोमिन २० का १२० चक्की, मेगालिन १५० का १०० चक्की र गाबावेल १५० का १५ चक्की बरामद गरिएको छ । खरिदकर्ताहरूको साथबाट पनि औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । सागर आले मगरको साथबाट पिगेरोन चार चक्की र सुनिल थामीको साथबाट गाबावेल १५० का १० चक्की फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई बरामद औषधिसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।


सम्बन्धित समाचार