३० जेठ,वीरगञ्ज । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमाथिको बहुप्रतीक्षित कमला पुल चालु आर्थिक वर्षमा पनि निर्माण सम्पन्न नहुने भएको छ। निर्माण सम्पन्न भई उद्घाटनको तयारी भइरहेका बेला भासिएको उक्त पुल पुनःनिर्माणको काम अझै टुंगिन नसकेको हो।
वर्षौंदेखि निर्माणाधीन रहेको पुलको निरीक्षण गर्दै आएका विभिन्न भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरूले पटक–पटक निर्माण कम्पनीलाई काम तीव्र बनाउन निर्देशन दिए पनि अपेक्षित प्रगति हुन सकेको छैन। केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मधेश प्रदेश सरकारमा रहेका पूर्वाधार मन्त्री सुनिल लम्सालले समेत पुलस्थल पुगेर निर्माण कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरेका थिए।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार मनसुन सुरु भएसँगै बाढीको जोखिम बढेकाले चालु वर्षभित्र पुल निर्माण सम्पन्न हुने सम्भावना न्यून रहेको छ।
मधेश प्रदेशको ‘लाइफ लाइन’ मानिने ४७० मिटर लामो कमला पुल निर्माणका लागि विसं २०६८ जेठ ३१ गते पप्पु–लुम्बिनी जेभीसँग ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर निर्धारित समयमै काम सम्पन्न नभएपछि हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्दै निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिएको थियो।
लुम्बिनी बिल्डर्सले पुल निर्माण अन्तिम चरणमा पुर्याएपछि विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिएको थियो। तर उद्घाटनअघि नै पुलको दुई वटा पाया भासिएपछि सम्पूर्ण योजना प्रभावित बनेको थियो। १३ वटा पाया र १२ वटा स्पान रहेको पुलको सिरहातर्फको दोस्रो तथा धनुषातर्फको चौथो पाया भासिएको थियो।
पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादका कारण लामो समयसम्म पुनःनिर्माण कार्य रोकिएको थियो। जसका कारण धनुषा र सिरहाका हजारौं नागरिक प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्।
स्थानीयवासीका अनुसार कमला नदीमा पुल नबन्दा आवतजावतमा ठूलो समस्या भइरहेको छ। सिरहा नगरपालिका–१७ का प्रवीण साहले जनकपुरधाम पुग्न स्थानीय बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको बताए। उनका अनुसार सिरहाबाट हुलाकी राजमार्ग हुँदै जनकपुरधाम पुग्न करिब ३० किलोमिटर दूरी भए पनि पुल नहुँदा महेन्द्र राजमार्ग प्रयोग गर्नुपर्दा करिब ९० किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ।
विशेषगरी वर्षायाममा बाढीका कारण आवतजावत अवरुद्ध हुँदा गम्भीर बिरामीलाई उपचारका लागि जनकपुरधाम वा विराटनगर लैजान समेत कठिनाइ हुने गरेको स्थानीयको गुनासो छ। पुल निर्माणमा भएको लामो ढिलाइले स्थानीय जनजीवन, व्यापार तथा आवागमनमा निरन्तर असर पुर्याइरहेको छ।
















