३० जेठ,काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्टको सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि उक्त पद रिक्त भएको थियो।
भट्टको सरुवापछि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका डीआईजी कार्कीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
डीआईजी कार्की यसअघि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहँदा सशस्त्र प्रहरी बल उपत्यका बाहिनीमा कार्यरत थिए। उनी संगठनभित्र अनुभवी तथा दक्ष अधिकृतका रूपमा परिचित छन्।
नयाँ जिम्मेवारीसँगै कार्कीले सशस्त्र प्रहरी बलका गतिविधि, सूचना प्रवाह तथा सञ्चार समन्वयसम्बन्धी कार्यको नेतृत्व गर्नेछन्।