३० जेठ,काठमाडौं । भारतसँगको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर आलोचनाको सामना गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दार्चुलास्थित अपी हिमाल बेस क्याम्पको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
शनिबार बिहान प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमार्फत अपी हिमाल बेस क्याम्प क्षेत्रमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडियो पोस्ट गरेका हुन्। उनले भिडियोसँगै ‘अपी हिमाल, बेस क्याम्प दार्चुला’ भन्ने छोटो क्याप्सन मात्र उल्लेख गरेका छन्।
भिडियोको पृष्ठभूमिमा प्रधानमन्त्री शाहकै स्वर तथा संगीत रहेको ‘जय महाकाली’ गीत समावेश गरिएको छ।
प्रधानमन्त्री शाहले केही दिनअघि प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको सीमा केही स्थानमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरू तथा विभिन्न राजनीतिक वृत्तबाट आलोचना भइरहेको छ। उक्त भनाइलाई लिएर संसद् र सार्वजनिक क्षेत्रमा बहस जारी छ।
यहीबीच, नेपाल–भारत सीमा विवादसँग प्रत्यक्ष रूपमा जोडिएको दार्चुला जिल्लाको अपी हिमाल क्षेत्रको भिडियो सार्वजनिक गरिएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। दार्चुला जिल्लामै नेपालले दाबी गर्दै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र पर्छन्।
प्रधानमन्त्रीले भिडियोमा कुनै राजनीतिक टिप्पणी नगरे पनि आलोचनाका बीच सीमा क्षेत्रसँग जोडिएको भूभागको दृश्य सार्वजनिक गर्नुले नेपाली भूमि र राष्ट्रिय स्वाधीनताप्रति आफ्नो प्रतिबद्धताको सन्देश दिन खोजेको हुनसक्ने विश्लेषण गरिएको छ।
















