Logo

३० जेठ,काठमाडौं । प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐन लागू गर्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। शनिबार गरिएको प्रदर्शनमा उनीहरूले स्वास्थ्य क्षेत्रभित्र भइरहेको श्रम शोषण अन्त्य गर्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनमा सहभागी चिकित्सकहरूले हप्तामा कम्तीमा एक दिन बिदा सुनिश्चित गर्नुपर्ने र दैनिक कामको समय १२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था लागू गर्नुपर्ने माग राखेका छन्। उनीहरूले हाल आफूहरू निरन्तर अत्यधिक कार्यभारमा काम गर्न बाध्य भएको बताएका छन्।

एक प्रदर्शनकारी चिकित्सकका अनुसार अहिलेको कार्य वातावरणमा चिकित्सकहरूले हप्तामा एक दिन पनि बिदा नपाउने अवस्था रहेको छ। उनले भने, “हामी वर्षभरि नै निरन्तर खटिनुपर्ने अवस्था छ, यो श्रम शोषण हो।”

त्यस्तै, अर्का चिकित्सक डा. प्रज्ञान बस्नेतले उच्च अंक ल्याएर पनि एमडी अध्ययनमा अवसर नपाएको भन्दै प्रणालीगत समस्याप्रति असन्तुष्टि जनाए। उनका अनुसार एक वर्षको अनिवार्य इन्टर्नसिप र अत्यधिक ड्युटी समयले चिकित्सकहरूको अध्ययन र जीवनमा असर पारेको छ।

प्रदर्शनमा सहभागी चिकित्सकहरूले ३६ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्था रहेको भन्दै तत्काल सुधारको माग गरेका छन्। उनीहरूले बिहान ७ बजे सुरु भएको ड्युटी अर्को दिन साँझसम्म चल्ने अवस्था रहेको बताए।

प्रदर्शनका क्रममा चिकित्सकहरूले ‘प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर’, ‘३६ घण्टे ड्युटी खारेज गर’, ‘स्वास्थ्यकर्मीको श्रम शोषण बन्द गर’ लगायतका प्लेकार्ड बोकेका थिए।

उनीहरूले स्वास्थ्य प्रणाली सुधार गर्दै चिकित्सकहरूको कार्यघण्टा, बिदा व्यवस्था र कार्य वातावरणलाई मानवोचित बनाउन सरकारलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार