३० जेठ,वीरगञ्ज । बिगत केही वर्षदेखि निर्माणाधीन रहेको बीरगञ्ज महानगरपालिका–१६ नगवास्थित बृद्धआश्रमको उद्घाटन सम्पन्न भएको छ। बृद्ध आमाबुबाको सेवा तथा समाजमा बृद्धआश्रमको बढ्दो आवश्यकता महसुस गर्दै उक्त आश्रम सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।
मधेश प्रदेशका प्रथम मुख्यमन्त्री तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै उनले आधुनिक जीवनशैलीका कारण परिवारका सदस्यहरूले बृद्ध आमाबुबाको हेरचाह गर्न समय दिन नसक्ने अवस्था बढ्दै गएको बताए। यही कारणले बृद्धआश्रमहरूको आवश्यकता झनै बढेको उनको भनाइ थियो।
पूर्वमुख्यमन्त्री राउतले आफू मुख्यमन्त्री हुँदा बीरगञ्ज, जनकपुर र राजविराजमा बृद्धआश्रम स्थापना गर्ने योजना रहेको स्मरण गर्दै विभिन्न कारणले सो योजना पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। उनले आगामी दिनमा पनि बृद्धआश्रमको विकास तथा व्यवस्थापनमा सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि तथा वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले आश्रममा आवश्यक भौतिक संरचना तथा सवारी साधन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताए। वडा कार्यालयबाट निरन्तर सहयोग रहने उनले प्रतिबद्धता जनाए।
बृद्धआश्रमका अध्यक्ष नन्दलाल राउत अहिरले आश्रम सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आर्थिक तथा भौतिक सहयोगको खाँचो रहेको बताए।
उक्त कार्यक्रममा बीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जन, विश्रामपुर गाउँपालिका–२ का वडा अध्यक्ष मनोज यादव, स्थानीय समाजसेवी, सञ्चारकर्मी तथा आश्रममा आश्रित बृद्ध आमाबुबाको समेत उपस्थिति रहेको थियो।
















