३० जेठ,काभ्रेपलाञ्चोक । काभ्रेमा भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। शुक्रबार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको दुर्घटनामा ८ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निर्देशनमा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार (महाभारत) का प्रहरी हबल्दार बासुदेव खड्का तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेका छन्।
छानबिन समितिलाई घटनाको वास्तविक अवस्था, दुर्घटनाको कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्यतथ्य प्रतिवेदन सात दिनभित्र पेश गर्न कार्यादेश दिइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउँदै भविष्यमा यस्ता घटनाको रोकथामका लागि आवश्यक सुझावसमेत प्रतिवेदनमार्फत प्रस्तुत गर्ने जनाएको छ।
















