Logo

२ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका विभिन्न स्वास्थ्य परिषद् र विशिष्टीकृत स्वास्थ्य संस्थाहरूमा रिक्त रहेका उच्च पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै व्यावसायिक नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष, रजिस्ट्रार र सदस्य सचिव जस्ता महत्वपूर्ण पदाधिकारीका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ ।

यसका अतिरिक्त, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डका लागि अध्यक्ष र कार्यकारी निर्देशक पदमा पनि नयाँ नियुक्तिको प्रक्रिया सुरु गरिएको छ । सूचनामा उल्लेख गरिएअनुसार, सम्बन्धित ऐन तथा नियमावलीले तोकेको आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १० दिनभित्र आफ्नो आवेदन पेस गर्न सक्नेछन् ।

मन्त्रालयले सहजीकरणका लागि आवेदन फाराम सिंहदरबारस्थित नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन उपलब्ध गराएको छ । नियुक्तिका लागि आवश्यक पर्ने थप कागजात, योग्यता र कार्यविधिबारे विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।


सम्बन्धित समाचार