Logo

२ असार, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकाससँगै विश्वव्यापी श्रम बजार र शैक्षिक क्षेत्रमा ठूलो परिवर्तनको लहर देखिएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार सन् २०३० सम्ममा विश्वका करिब २२ प्रतिशत रोजगारीमा एआईको प्रत्यक्ष प्रभाव पर्ने प्रक्षेपण गरिएको छ । विशेषगरी सूचना प्रविधि, कानुन, वाणिज्य र डिजाइनजस्ता क्षेत्रहरूमा परम्परागत सीपको माग घट्दै गएको छ भने ‘हाइब्रिड सीप’ अर्थात प्राविधिक ज्ञान र एआई उपकरणको प्रयोगमा निपुण जनशक्तिको खोजी हुन थालेको छ । विज्ञहरूका अनुसार एआईले मानिसलाई पूर्ण रूपमा विस्थापित गर्ने भन्दा पनि एआई चलाउन जान्नेले नजान्नेलाई विस्थापित गर्ने अवस्था सिर्जना भएको छ ।

यसै क्रममा चीनले आफ्नो शैक्षिक संरचनामा आक्रामक सुधार गरेको छ । सन् २०२१ देखि २०२५ को बीचमा चिनियाँ विश्वविद्यालयहरूले १२ हजार २ सयभन्दा बढी पुराना स्नातक कार्यक्रमहरू खारेज गर्दै करिब १० हजार २ सय नयाँ विषयहरू थप गरेका छन् ।

एआई, सेमिकन्डक्टर र रोबोटिक्सजस्ता रणनीतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चीनले मानविकी र परम्परागत व्यवस्थापन विधाका कार्यक्रमहरूमा कटौती गरेको हो । भारतमा पनि यस्तै प्रवृत्ति देखिएको छ, जहाँ कर्नाटक राज्यले कम विद्यार्थी चाप भएका १ हजार ३ सयभन्दा बढी पाठ्यक्रममा सिट कटौती गरेको छ ।

एआईको सहयोगमा १० गुणा बढी उत्पादकत्व दिन सक्ने

मानव संसाधन विज्ञ पंकज बंसलका अनुसार, अबको युगमा केवल सैद्धान्तिक ज्ञान वा डिग्रीको मात्रै विशेष महत्त्व रहनेछैन । उनले विद्यार्थीहरूलाई कलेज पढ्दाकै अवस्थामा व्यावहारिक परियोजनाहरूमा सक्रिय हुन र एआईको व्यावसायिक प्रयोगमा अभ्यस्त हुन सुझाव दिएका छन् ।

आगामी केही वर्षभित्र शैक्षिक डिग्रीभन्दा पनि ‘५.५ क्रेडिट स्कोर’ जस्ता व्यावहारिक दक्षता मापन गर्ने प्रणालीले बजार लिने उनको भनाइ छ । कम्पनीहरूले अब औसत जनशक्तिभन्दा एआईको सहयोगमा १० गुणा बढी उत्पादकत्व दिन सक्ने ‘प्रोफेशनल्स’ को खोजी गरिरहेका छन् ।

यद्यपि, एआई नै सबैथोक भने होइन । ठूला स्टार्टअपहरूले एआईको उच्च सञ्चालन खर्चलाई ध्यानमा राख्दै फेरि मानिसको बौद्धिकतामा लगानी गर्न थालेका छन् ।

निर्णय लिने क्षमता, उच्च संवेगात्मक क्षमता, र सञ्चार सीपजस्ता मानवीय गुणहरू एआईले प्रतिस्थापन गर्न नसक्ने भएकाले यी क्षेत्रमा मानिसको वर्चस्व कायमै रहनेछ । तसर्थ, भविष्यमा जागिर सुरक्षित राख्नका लागि प्रविधिको साथ र मानवीय संवेदनशीलताको समन्वय अपरिहार्य देखिएको छ।


सम्बन्धित समाचार