२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रकाश विष्ट विजयी भएका छन् ।
मङ्गलबार सम्पन्न मतदानमा आफ्ना निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामीलाई भारी मतान्तरले पराजित गर्दै विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचन परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धामीले १५४ मत मात्र प्राप्त गरे ।
नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्थ समितिको नेतृत्वमा थिए । पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि गत सोमबारबाट सुरु भएको प्रदेश अधिवेशनले अन्ततः विष्टलाई नै प्रदेशको बागडोर सुम्पिएको छ ।
प्रदेश कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको चयनका लागि भने निर्वाचन प्रक्रिया मङ्गलबार दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । रास्वपाले प्रदेश तहमा निर्वाचनमार्फत नेतृत्व चयन गरेसँगै सुदूरपश्चिममा पार्टीको सांगठनिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।
















