Logo

२ असार, काठमाडौं । नेकपाका सांसद प्रमेश हमालले जारी फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रशारण नागरिकले निःशुल्क हेर्न पाउनुपर्ने माग अघि सारेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि शुल्क तोकिनु आम नागरिकमाथिको आर्थिक बोझ भएको भन्दै आपत्ति जनाएका हुन् ।

विश्वकप हेर्नका लागि प्रतिव्यक्ति नौ सय ९९ रुपैयाँ तिर्नुपर्ने हालको बाध्यकारी अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै हमालले यसलाई ‘मनोपली’ को संज्ञा दिएका छन् । उनले भने, ‘विश्वकप हेर्ने नाममा नागरिकबाट जुन किसिमले मनोपली रूपमा पैसा असुलिएको छ, त्यो अनुचित छ। उक्त शुल्कबाट पर्याप्त आम्दानी भइसकेको हुनुपर्छ ।’

सांसद हमालले जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्न सरकारसँग गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले नागरिकले थप आर्थिक भार नबोकी विश्वकपका खेलहरू सहज र निःशुल्क रूपमा हेर्न पाउने वातावरण बनाउन नेपाल टेलिभिजनमार्फत खेल प्रशारणको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।


सम्बन्धित समाचार
भर्खरै