Logo

२ असार,वीरगञ्ज ।  बैंकिङ कसुर मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर रिहा भएका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दाको बिगो बराबरको धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन्।

‘उहाँले बिगो बराबरको धरौटी बुझाएपछि छुट्नुभएको छ। हाजिर जमानीमा छोडिएको हो। अनुसन्धान जारी छ र बोलाएको बेला उपस्थित हुनुहुन्छ,’ एसपी भट्टराईले बताए।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि प्रहरीले साहलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रमानन्द चोकबाट पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ निवासी ५८ वर्षीय नारायण साह सुडीलाई पनि पक्राउ गरिएको थियो। सुडी पनि धरौटी प्रक्रिया पूरा गरी रिहा भएका छन्।

गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको आरोप लगाउँदै शकुन्तला अधिकारी (थापा) ले साहविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान प्रक्रिया भने जारी रहेको छ।


सम्बन्धित समाचार
भर्खरै