Logo

२ असार,जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी गाउँका एक १८ दिने नवजात शिशुको समयमै चिकित्सकीय हस्तक्षेपका कारण ज्यान जोगिएको छ।

स्थानीय २४ वर्षीया रीता देवी मण्डलले राति करिब १२ बजे ओछ्यानमै सुतेर आफ्ना शिशुलाई स्तनपान गराइरहेकी थिइन्। सोही क्रममा शिशुको नाकबाट सिँगानजस्तै दूध निस्किन थालेको र शरीर निलो हुँदै गएपछि परिवारका सदस्यहरू आत्तिएका थिए।

शिशुका पिता चन्दे मण्डलले तत्काल गाउँमै रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सतिन्द्र रायलाई खबर गरेका थिए। सूचना पाएलगत्तै शिशुको घर पुगेका डा. रायले परीक्षण गर्दा अक्सिजनको कमीका कारण शरीर निलो भएको तथा ‘अस्पाइरेशन अफ मिल्क’ (दूध श्वासनलीमा पस्ने अवस्था) का कारण शिशुको ज्यान जोखिममा परेको पत्ता लगाए।

डा. रायका अनुसार शिशुको अवस्था अत्यन्तै गम्भीर थियो। प्रारम्भिक उपचारपछि उनले आफ्नै निगरानीमा सिपिआर दिँदै रातिको समयमा सवारीसाधनको अभावबीच शिशुलाई जनकपुरधामस्थित नेपाल अपोलो अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा बालरोग विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीले नवजातलाई एनआइसीयु भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो। करिब एक सातासम्मको उपचारपछि शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको र सकुशल घर फर्किएको अस्पताल स्रोतले जनाएको छ।

यसअघि यस्तै प्रकृतिका सात वटा नवजात मृत्युका घटना देखिसकेका डा. रायले यो घटनालाई निकै चुनौतीपूर्ण रहेको बताए। उनले नवजात शिशुलाई स्तनपान गराउँदा सही विधि अपनाउन र कुनै असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीको परामर्श लिन अभिभावकलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै