२ असार,काठमाडौं । कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा आश्रित परिवारहरूले तीन दिनदेखि नियमित खाना नपाएको गुनासो गरेका छन्। आइतबार साँझदेखि खाना वितरण बन्द भएपछि त्यहाँ बसिरहेका सुकुमवासीहरू आन्दोलनमा उत्रिएका हुन्।
होल्डिङ सेन्टरमा बसिरहेका आश्रितका अनुसार आइतबार साँझ ६ बजेदेखि खाना वितरण रोकिएको हो। सोमबार बालबालिकालाई चिउरा र दही तथा ठूला व्यक्तिलाई चिउरा र दालमोट उपलब्ध गराइए पनि नियमित भोजनको व्यवस्था हुन सकेको छैन। मंगलबार बिहानसम्म पनि खाना नपाएको उनीहरूको भनाइ छ।
उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि स्थायी बसोबासको प्रतीक्षामा रहेका ६५ परिवारका २ सय ७७ जना व्यक्ति झण्डै दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा अस्थायी टेन्टमा बस्दै आएका छन्। उनीहरू यसअघि राधास्वामी सत्संग तथा काठमाडौं महानगरपालिकाबाट उपलब्ध गराइने खानाको भरमा जीवनयापन गर्दै आएका थिए।
खाना अभावका कारण बालबालिकाको विद्यालय जान छुटेको, बिरामीले समयमै औषधि खान नसकेको तथा दैनिक जीवन प्रभावित भएको आश्रितहरूको गुनासो छ। उनीहरूले सरकारले आफूहरूको व्यवस्थापनमा गम्भीरता नदेखाएको आरोप पनि लगाएका छन्।
यता, काठमाडौं महानगरपालिकाले भने खाना वितरणमा आएको समस्या ‘सिस्टम चेन्ज’ का कारण भएको सामान्य ढिलाइ मात्र भएको जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले केही घण्टाको व्यवस्थापनगत समस्या भए पनि आश्रितहरूको हेरचाह गर्ने जिम्मेवारी महानगरले नै निर्वाह गरिरहेको बताए।
महानगरले स्थायी बसोबासको व्यवस्था नभएसम्म होल्डिङ सेन्टरमा रहेका परिवारहरूको रेखदेख गर्ने जनाएको छ। त्यसपछिको व्यवस्थापन भने संघीय सरकारको जिम्मेवारी हुने महानगरको भनाइ छ।
उता, राधास्वामी सत्संगले भने हाल खाना व्यवस्थापनमा आफ्नो कुनै भूमिका नरहेको जनाएको छ। आश्रमका एक कर्मचारीका अनुसार महानगरले जिम्मेवारी लिएपछि आश्रमले खाना वितरण कार्यमा संलग्नता नराखेको र हालको अवस्थाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
















