Logo

२ असार,वीरगञ्ज । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ज्ञान वाटिका माध्यमिक विद्यालयमा मङ्गलबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको सुनाखरी उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, दलित, वन्यजन्तुबाट प्रभावित तथा अभिभावकविहीन विद्यार्थीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा जनही रु. १ हजार ५०० का दरले छात्रवृत्ति वितरण गरिएको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सुनाखरी उपभोक्ता समितिले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले पर्सा क्षेत्रमा रहेका पाँच मध्यवर्ती उपभोक्ता समितिमध्ये सुनाखरीले शिक्षा र संरक्षणलाई प्राथमिकतामा राखेर उदाहरणीय काम गरेको भन्दै अन्य समितिले पनि अनुसरण गर्नुपर्ने बताए।

सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य निशा खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेवार, प्रधानाध्यापक विर्जु चौधरी लगायत पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो।

समितिले विगतदेखि नै विद्यालयमा सामाजिक तथा शैक्षिक सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो पहलले आर्थिक रूपमा कमजोर तथा विशेष परिस्थितिका विद्यार्थीलाई राहत पुगेको स्थानीयवासीले बताएका छन्।

समितिका अनुसार आगामी असारको तेस्रो सातातिर दोस्रो चरणको छात्रवृत्ति वितरण गरिनेछ। साथै ठोरी–५ चमरीटोलस्थित प्राविका सबै विद्यार्थीलाई हाउस ड्रेस वितरण गर्ने तयारी पनि गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै