Logo

२ असार,वीरगञ्ज ।  मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा जसपा नेपालका नेता जितेन्द्र सोनलले नेपाल–भारत सीमामा सरकारले कडाइ वा नियन्त्रण गर्ने प्रयास गरे मधेसमा विद्रोह हुन सक्ने चेतावनी दिएका छन्।

बाराको कलैयामा मधेस मिडिया काउन्सिलले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सीमा दुई देशलाई अलग राख्ने भए पनि जनस्तरमा शताब्दीयौँदेखिको घनिष्ठ सम्बन्ध रहेको बताए।

उनले सीमा नियमन गर्नु स्वाभाविक भए पनि अत्यधिक नियन्त्रण गर्ने नीति स्वीकार्य नहुने दाबी गरे। “सीमा वारपारको व्यापार सदियौँदेखिको परम्परा हो, त्यसलाई कडाइका नाममा रोक्ने प्रयास सरकारका लागि प्रतिउत्पादक हुन्छ,” उनले भने।

सोनलले सरकारले सीमा नाकाबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउन नपाउने गरी गरिएको नियन्त्रणप्रति पनि असन्तुष्टि जनाउँदै यस्तो निर्णय मधेसका जनताले स्वीकार नगर्ने दाबी गरे।

उनले मतादेशको सम्मान गर्नुपर्ने उल्लेख गर्दै सरकारमाथि संवैधानिक निकायहरूलाई कमजोर बनाउने प्रयासको आरोप समेत लगाए। निर्वाचन आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर टिप्पणी गरिरहेको भन्दै उनले त्यस्ता गतिविधि रोक्नुपर्ने धारणा राखे।

त्यसैगरी, उनले स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सञ्चार माध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन निरन्तरता दिन सरकारलाई आग्रह गरे।


सम्बन्धित समाचार
भर्खरै