Logo

२ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा नेपालमा ४७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो । पछिल्लो महिना अर्थात् जेठ महिनामा मात्रै २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल ९१४ वटा उद्योगरपरियोजनाका लागि उक्त लगानी प्रतिबद्धता आएको हो। यी परियोजनाहरू कार्यान्वयनमा आउँदा २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान गरिएको छ। जेठ महिनामा मात्र १८६ वटा साना तथा मध्यम स्केलका परियोजनाहरू स्वीकृत भएका छन्, जसबाट करिब १ हजार २२१ जनाका लागि रोजगारी सिर्जना हुने विभागको प्रक्षेपण छ ।

जेठ महिनामा मात्र ९५ जना लगानीकर्ता, ५१ जना प्रतिनिधि र ८५ जना आश्रितका लागि व्यावसायिक भिसा सिफारिस गरिएको छ भने सोही अवधिमा रोयल्टी र लाभांशबापतको रकम फिर्ता लैजान समेत स्वीकृति दिइएको छ ।

क्षेत्रगत लगानीको अवस्था हेर्दा कृषि तथा वनजन्य क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ, जसमा कुल प्रतिबद्धताको ४६ प्रतिशत अर्थात् २२ अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । त्यस्तै, परियोजना संख्याको आधारमा सूचना प्रविधि क्षेत्रमा ५७७ वटा उद्योग दर्ता भएका छन् । बाँकी लगानी पर्यटन क्षेत्रमा १२ अर्ब ९९ करोड, सेवा क्षेत्रमा ४ अर्ब ५९ करोड, उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ५७ करोड, सूचना प्रविधिमा २ अर्ब ३६ करोड र बाँकी अन्य पूर्वाधार तथा ऊर्जा क्षेत्रमा विभाजन भएको छ ।

आर्थिक वर्षको सुरुवाती महिना साउनमा करिब २५ अर्ब रुपैयाँको उच्च प्रतिबद्धता आए पनि असोजदेखि माघसम्म लगानीको ग्राफमा निकै उतारचढाव देखिएको थियो । विशेष गरी मङ्सिर र पुस महिनामा लगानी प्रतिबद्धता अत्यन्त न्यून विन्दुमा झरेको थियो । सरकारले अहिलेसम्म कुल ५ हजार २४८ उद्योग दर्ताका लागि ६ खर्ब ६० अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरिसकेको छ ।

लगानी भित्र्याउने प्रक्रियालाई थप सहज बनाउन सरकारले अटोमेटिक रुटको व्यवस्था गरेसँगै साना तथा मध्यम लगानीकर्ताहरू थप आकर्षित भएको विभागले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै