२ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारी तथा सार्वजनिक निकायको भवनभित्र सञ्चालित कर्मचारी ट्रेड युनियन र विभिन्न पेसागत सङ्घ(सङ्गठनहरूलाई ७ दिनभित्र कार्यालय खाली गर्न निर्देशन दिएको छ ।
प्रशासनले सोमबार एक सूचना जारी गर्दै सरकारी संरचनाभित्र कार्यालय स्थापना गरी बोर्ड राख्ने कार्य तत्काल बन्द गर्न सङ्घ–संस्थाहरूलाई कडा चेतावनी दिएको हो । सूचनामा काठमाडौँ जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक निकायको हाताभित्र रहेका त्यस्ता सङ्घसङ्गठनका केन्द्रीय, प्रादेशिक, जिल्ला वा इकाइ कार्यालयहरूलाई ७ दिनभित्र अन्यत्र स्थानान्तरण गर्न भनिएको छ । सरकारी भवन र संरचनाभित्र ओगटेको स्थान खाली गर्न र सञ्चालनमा रहेका साइनबोर्डहरू हटाउन प्रशासनले स्पष्ट निर्देशन दिएको छ ।
प्रशासनले गैरसरकारी प्रकृतिका प्राविधिक वा पेसागत संस्थाहरूले सार्वजनिक भवन र संरचनाको प्रयोग गरी कार्यालय सञ्चालन गर्नु कानुनसम्मत नभएको भन्दै यस्तो कदम चालेको हो । यदि तोकिएको समयसीमाभित्र निर्देशन पालना नभएमा वा कार्यालय नहटाएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रशासनको तयारी छ ।
















