२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाविहीन रहेका सुकुम्बासी नागरिकको समस्या अविलम्ब समाधान गर्न सरकारसँग माग गरेका छन् ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद राईले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोबास गर्दै आएका र नगरपालिकालाई समेत नियमित कर बुझाउँदै आएका नागरिकहरूले अहिलेसम्म पुर्जा नपाउनु न्यायोचित नभएको भन्दै आपत्ति जनाए । उनले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसिरहेका स्थानीयलाई नक्कली जग्गाधनी खडा गरी विस्थापित गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण गराए ।
सांसद राईले सीमावर्ती क्षेत्रमा भइरहेका राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशीलताका विषयमा पनि सरकारलाई सचेत गराए । रौतहटको गौर नजिकै भारतले लाल बकैया र वागमती नदीमा निर्माण गरेका उच्च बाँधका कारण नेपाली भूभाग बर्सेनि डुबानमा पर्ने गरेको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय स्वाधीनतासँग जोडेर हेर्नुपर्ने बताए । ‘हाम्रो भूभाग डुबानमा पारेर छिमेकीको रक्षा गर्ने खालका सम्झौताहरू राष्ट्रघाती हुन्, सरकारले यसमा गम्भीरतापूर्वक आवश्यक कदम चालोस्,’ उनले भने ।
साथै, उनले माइतीघर मण्डलामा लामो समयदेखि विभिन्न माग राखेर धर्नामा बसेका नागरिकहरूको मुद्दा सम्बोधन गर्न गृहमन्त्रीसँग जोडदार माग गरेका छन् । उनले सुदन गुरुङलाई ‘क्वीक एक्सन’ भएको गृहमन्त्री भन्दै प्रशंसा पनि गरेका छन् । केही दिन अघि मात्रै गृहमन्त्री गुरुङ फिल्डमै माइतिघर क्षेत्र पुगेका थिए ।
सोही क्रममा सांसद राईले प्रधानमन्त्रीको हालैको विवादास्पद अभिव्यक्तिप्रति पनि आफ्नो असहमति प्रकट गरेका छन् । प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले उक्त भनाइलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
सुकुम्बासीको हक, सीमा सुरक्षा र जनसरोकारका मुद्दामा सरकारले तदारुकता नदेखाएको भन्दै उनले बैठकमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
















