२ असार, वीरगञ्ज । पाँच महिनादेखि तलब नपाउँदा ऋण, उधारो र आर्थिक तनावमा गुज्रिरहेका वीरगञ्ज महानगरपालिकाका कर्मचारीका लागि मंगलबारको दिन राहतको खबर लिएर आयो। लामो समयदेखि रोकिएको तलब अन्ततः खातामा जम्मा हुन थालेपछि कर्मचारीहरूमा केही हदसम्म उत्साह फर्किएको छ।
महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा वसन्तबहादुर बोहरा आएपछि ठप्पजस्तै बनेको आर्थिक प्रशासन पुनः चलायमान हुन थालेको छ। कर्मचारीहरूको तलब भुक्तानी प्रक्रिया सुरु भएसँगै महिनौँदेखि रोकिएका आर्थिक गतिविधिहरूले पनि गति लिन थालेका छन्।
महानगरको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीको खातामा ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम पठाइएको छ। यसमा निजामती, स्थायी, करार तथा सरसफाइ सेवामा कार्यरत कर्मचारीहरू समावेश छन्।
लेखा अधिकृत रुपनारायण राउतका अनुसार अधिकांश कर्मचारीलाई तीनदेखि चार महिनासम्मको बक्यौता तलब उपलब्ध गराइएको छ। “लामो समयदेखि तलब नपाएर सबैभन्दा बढी समस्यामा परेका कर्मचारीलाई प्राथमिकतामा राखेर भुक्तानी सुरु गरेका हौं,” उनले भने, “बाँकी ६८४ जना कर्मचारीको खातामा पनि छिट्टै रकम पठाइनेछ।”
वीरगञ्ज महानगरमा मासिक तलब भुक्तानीका लागि मात्रै करिब ३ करोड ७६ लाख रुपैयाँ आवश्यक पर्छ। तर महानगरको कमजोर वित्तीय अवस्थाका कारण एकैपटक सबै कर्मचारीलाई तलब दिन सक्ने अवस्था नरहेको प्रशासनको भनाइ छ। त्यसैले उपलब्ध स्रोतका आधारमा चरणबद्ध रूपमा रकम निकासा गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृत बोहराले अहिले बैशाख महिनासम्मको तलब भुक्तानी गरिएको जानकारी दिँदै चालु आर्थिक वर्षभित्र सबै कर्मचारीको बाँकी तलब चुक्ता गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। “हामीले कर्मचारीको समस्या पहिलो प्राथमिकतामा राखेका छौँ। आर्थिक व्यवस्थापनलाई क्रमशः सुधार गर्दै बाँकी भुक्तानी पनि सम्पन्न गर्नेछौँ,” उनले भने।
वीरगञ्ज महानगरको आर्थिक संकट पछिल्लो केही महिनायता प्रशासनिक विवादसँग जोडिएको थियो। मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई महानगर नेतृत्वले हाजिर नगराएपछि प्रशासनिक संरचना अस्थिर बनेको थियो। त्यसपछि वैशाख ४ गतेदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार कटौती हुँदा महानगरको खर्च व्यवस्थापन, विकास निर्माण र कर्मचारी प्रशासन प्रभावित बनेको थियो।
त्यसको प्रत्यक्ष असर कर्मचारीमाथि परेको थियो। नियमित तलब नपाउँदा धेरै कर्मचारीले घरखर्च धान्न ऋण लिनुपरेको, बैंकको किस्ता तिर्न समस्या भएको तथा दैनिक जीवनयापन नै कठिन बनेको गुनासो गर्दै आएका थिए। कतिपय कर्मचारीले तलब नपाउँदा मानसिक दबाबसमेत बढेको बताएका थिए।
सरकारले जेठ ११ गते वसन्तबहादुर बोहरालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएपछि र उनले जेठ २० गते कार्यभार सम्हालेपछि भने महानगरको आर्थिक संयन्त्र विस्तारै सक्रिय हुन थालेको हो। कार्यभार सम्हालेको करिब दुई सातामै तलब निकासा प्रक्रिया अघि बढेपछि कर्मचारीहरूले लामो समयपछि राहतको अनुभूति गरेका छन्।
यद्यपि कर्मचारीको खातामा रकम आउन थाले पनि महानगरको समग्र आर्थिक संकट भने अझै पूर्ण रूपमा समाधान भइसकेको छैन। बाँकी कर्मचारीको तलब भुक्तानी, विकास योजनाको भुक्तानी तथा अन्य दायित्व व्यवस्थापन महानगरका लागि अझै चुनौतीकै विषय बनेका छन्।
तर पाँच महिनादेखि रोकिएको तलबको पहिलो किस्ता कर्मचारीको खातामा पुग्नु आफैंमा वीरगञ्ज महानगरको प्रशासनिक र आर्थिक गतिविधि पुनः चलायमान हुन थालेको संकेतका रूपमा हेरिएको छ। लामो समयपछि कर्मचारीहरूको घरमा आर्थिक चहलपहल फर्किएको छ भने महानगरभित्र पनि सेवा प्रवाह र प्रशासनिक कामकाज सामान्य अवस्थामा फर्काउने प्रयासले गति लिएको छ।
















