६, असार काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ ।
ललितपुर र काठमाडौँको सिमानास्थित काठमाडौँ महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।
कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएका थिए भने ब्युरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो । गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते भएका ओझैयालाई उपचारका लागि अस्पताल पठाइएको छ । ओझैया खैरो हेरोइन मगाउने मुख्य व्यक्ति रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
लागुऔषध कारोबारमा संलग्न कैलाली घर भएका २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ का १८ वर्षीय नीरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट प्रहरीले ३०२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
उनी लागुऔषध नाइट्रोभ्याट मुद्दामा २०७९ पुस ३ मा थानकोटबाट पक्राउ परेर जेल परेका थिए । ३ वर्ष जेल बसेर २०८२ पुस १७ मा छुटेपछि फेरि लागुऔषध कारोबारमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
















