८ असार, सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा ठुलो परिमाणको प्रतिबन्धित खैरो हेरोइन (ब्राउनसुगर) सहित दुई जना भारतीय तस्कर पक्राउ परेका छन् । लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोली र तस्करहरूबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोलीसमेत चलाउनुपरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट ९२.३ ग्राम ब्राउनसुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा लागूऔषधसहित फेला परेपछि तस्करको समूहले पक्राउबाट बच्न अचानक प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो । प्रहरीलाई आक्रमण गर्दै उनीहरू सीमापारि भारततर्फ भाग्न खोजेपछि प्रतिरक्षा र तस्करलाई रोक्न प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि पनि आत्मसमर्पण नगरेपछि प्रहरीले चलाएको एक राउण्ड गोली लागेर एक तस्कर घाइते भएका छन् ।
गोली लागेर भारतको बिहार, मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका हुन् । उनको खुट्टामा गोली लागेको छ । सोही झडप र ढुङ्गामुढाका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर पनि घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते भएका तस्कर पासवान र प्रहरी जवान ठाकुर दुवै जनाको यतिबेला प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थलबाट ढुङ्गामुढा प्रहार गरी भाग्न खोज्ने भारत, मधुवनीकै अन्दाजी १७ वर्षीय रमन कुमार पासवानलाई समेत नियन्त्रणमा लिएको छ । सीमावर्ती क्षेत्रलाई ट्रान्जिट बनाएर नेपालमा प्रतिबन्धित लागूऔषध भित्र्याउने ठुलो गिरोह सक्रिय रहेको आशङ्कामा पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीले जनाएको छ ।















