११ असार,वीरगञ्ज । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–६ निवासी जितेन्द्र मिश्र रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादव का अनुसार मिश्रलाई बिहीबार दिउँसो सीसीटीभी फुटेजका आधारमा मधेश भवन परिसरबाटै पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनी स्कारपियो गाडी चढेर पुनः मधेश भवन पुगेका बेला नियन्त्रणमा लिइएका हुन्।
बुधबार बिहान करिब ११ बजे अर्थमन्त्री भट्टराई प्रयोग गर्ने ज १ झ ४४१ नम्बरको सरकारी गाडी मन्त्रालय अगाडि पार्किङमा राखिएको अवस्थामा अज्ञात व्यक्तिले गाडीमा जडान गरिएको राष्ट्रिय झण्डा भाँचेर फालेका थिए।
सीसीटीभी फुटेजमा स्कारपियोबाट ओर्लिएका एक व्यक्तिले गाडी वरिपरि निरीक्षण गरेपछि राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेको तथा मोबाइल फोनमा कुरा गर्दै मन्त्रालय परिसरभित्र प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ। ती व्यक्ति करिब चारदेखि पाँच मिनेटसम्म परिसरमा रहेको फुटेजमा देखिएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को टोली घटनास्थलमा पुगेर मधेश भवनमा करिब तीनदेखि चार घण्टासम्म अनुसन्धान गरेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

















