११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दामा साक्षी बकपत्र सम्पन्न हुन नसक्दा सुनुवाइ पछि धकेलिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा आजका लागि तोकिएको पेशीमा सबै साक्षीहरूसँग बकपत्र गराउन बाँकी रहेकाले अर्को पेशीमा मात्र थप प्रक्रिया अगाडि बढ्ने भएको छ । नेपालका तर्फबाट बहस गरिरहेका अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदीका अनुसार आज सामान्य छलफल मात्र भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयलाई जग्गा दिँदा अनियमितता भएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।
अख्तियारको अभियोगपत्रअनुसार, नेपाल प्रधानमन्त्री हुँदा २०६६ सालमा आफ्नो ठाडो प्रस्तावमार्फत हदभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टाका लागि गैरकानुनी रूपमा स्वीकृति दिएको आरोप छ । मन्त्रिपरिषद्को निर्णयभन्दा अगाडि नै उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा प्रवाह भएको विषयसमेत अनुसन्धानमा देखिएको छ ।
















