११ असार, काठमाडौं । बेलायती राजतन्त्रलाई थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यस कदमसँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने बेलायती इतिहासकै पहिलो राजा बन्नेछन् । बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा नै राजाले आफ्नो करसम्बन्धी जानकारी पनि बाहिर ल्याउने तयारी गरेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।
वेल्सका राजकुमार रहँदा नै स्वेच्छिक रूपमा कर तिर्दै आएका राजा चार्ल्सले सिंहासनमा आरोहण गरेपछि पहिलो पटक राजाको हैसियतमा यस्तो विवरण सार्वजनिक गर्न लागेका हुन् । करिब ६८ करोड पाउन्ड व्यक्तिगत सम्पत्ति रहेको अनुमान गरिएका राजा चार्ल्स बेलायतका शीर्ष २५० धनी व्यक्तिहरूको सूचीमा पर्दछन् ।
कानूनी रूपमा आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उनले आफ्नो निजी आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आएका छन् । उनको आम्दानीको मुख्य स्रोत बालमोरल र स्यान्ड्रिङ्घम एस्टेटका साथै विभिन्न बचत तथा लगानीहरू हुन् ।
राजपरिवारका केही सदस्यहरूसँग सम्बन्धित विवादपछि राजतन्त्रको आर्थिक तथा प्रशासनिक गतिविधिमा पारदर्शिताको माग बढिरहेका बेला राजाको यो निर्णयले जनविश्वास बढाउने अपेक्षा गरिएको छ । आधुनिक लोकतन्त्रमा राजसंस्थालाई कम खर्चिलो र उत्तरदायी बनाउने आफ्नो लामो समयदेखिको योजनालाई उनले यस कदममार्फत थप बलियो बनाउन खोजेका छन् ।
यसैगरी, वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ, जसको मुख्य आम्दानीको स्रोत ‘डची अफ कर्नवाल’ रहेको छ ।

















