१५ असार, काठमाडौँ । विशेष अदालत, काठमाडौँले राहदानी विभागको महानिर्देशक तीर्थराज अर्यालसहित सबैलाई रिहा गर्न आदेश दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सबै प्रतिवादीलाई रिहा गर्न आदेश दिएको हो।
विशेष अदालतले महानिर्देशक अर्याललाई पाँच लाख, सुनलिकुमार केसीलाई चार लाख, सोमेश थापालाई तीन लाख, विपिन प्रसाईंलाई तीन लाख, मणिचन्द्र मल्ललाई पाँच धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै, तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ।
राहदानी छपाइको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा अर्यालसहित १६ जना र दुई वटा ठेकेदार कम्पनीलाई प्रतिवादी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार ८ मा मुद्दा दायर गरेको थियो। उनीहरूले १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ।

















