Logo

२३ असार,काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधका आधारमा यूएई सरकारले १११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको जनाएको छ। मन्त्रालयले उक्त निर्णयका लागि यूएई सरकारप्रति आभार पनि व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्नेछन्।

परराष्ट्र मन्त्रालयले नेपाल–यूएईबीचको मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको सन्दर्भमा यस निर्णयलाई दुई देशबीचको सद्भाव र सहयोगको महत्वपूर्ण प्रतीकका रूपमा लिएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै