२३ असार, काठमाडौं । झापाको काँकडभिट्टा र मेची भन्सार नाकामा संगठित रूपमा भइरहेको तस्करीबारे स्थानीय महिलाको गुनासोपछि गृहमन्त्री सुधन गुरुङले आक्रामक कारबाही अघि बढाएका छन् ।
सीमा क्षेत्रको निरीक्षणका क्रममा स्थानीय बन्दना मेचेले सुरक्षाकर्मीकै मिलोमतोमा ठूला तस्करलाई स्कर्टिङ र साना व्यापारीलाई सास्ती दिने गरेको भन्दै प्रमाणसहित पोल खोलेपछि गृहमन्त्रीले सुरक्षा संयन्त्रलाई कडा निर्देशन दिएका हुन् । मन्त्री गुरुङले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरीका डीएसपी विकास थापालगायतका अधिकारीहरूलाई बन्द कोठामा राखी केरकार गरेका छन् भने अनुसन्धानका लागि उनीहरूको मोबाइल फोनसमेत नियन्त्रणमा लिई फरेन्सिक ल्याब पठाउन आदेश दिएका छन् ।
भन्सार नाकाहरूमा हुने तस्करीले स्वदेशी उद्योगहरू धराशायी हुनुका साथै राजस्वमा समेत गम्भीर धक्का पुर्याइरहेको सन्दर्भमा गृहमन्त्रीको यो सक्रियतालाई एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । विशेषगरी तस्कर र सुरक्षाकर्मीबीचको ‘सेटिङ’ भत्काउने उद्देश्यले गृहमन्त्रीले कल डिटेल, ह्वाट्सएप च्याट र बैंक खाताको विवरणसमेत छानबिन गर्ने चेतावनी दिएका छन् ।
सीमामा खटिएका केही तल्लो तहका सुरक्षाकर्मीहरूको समेत नाम किटिएपछि गृहमन्त्रीले तस्करीमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने अठोट व्यक्त गरेका छन् । लामो समयदेखि सीमा क्षेत्रमा व्याप्त तस्करीको जालोबारे मन्त्रीको यस ‘एक्सन’ पछि झापाको प्रशासनिक र सुरक्षा वृत्तमा हलचल मच्चिएको छ ।



















