२४ असार, वीरगञ्ज (पर्सा) । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साको ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह (वाटर लेभल) घटेर प्राकृतिक सङ्कट निम्तिएको छ ।
अधिकांश प्राकृतिक पानीका मुहानहरू पूर्ण रूपमा सुकेका छन् भने बाँकी स्रोतहरूमा पनि पानीको मात्रा घट्दा जिल्लाभर खानेपानीको समस्या देखिएको छ भने कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ।
असारको तेस्रो साता बितिसक्दा समेत मनसुन सुस्त हुँदा खानेपानीको अभावसँगै किसानहरू धान रोपाइँ गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
केही वर्षअघि मात्र पर्साका ग्रामीण बासिन्दाहरूले भुइँभित्र १५० देखि २०० फिट गहिराइसम्म पाइप गाडेर विनामोटर आफैँ पानी आउने ‘आर्टिजन’ (अटोमेटिक) धारा सञ्चालनमा ल्याएका थिए । तर, यस वर्ष भूमिगत जलसतह निकै तल खस्किएपछि ती अधिकांश प्रकृतिका धाराहरू पूर्ण रूपमा सुकेका छन् । पानी आउन छाडेपछि स्थानीय बासिन्दाहरू अहिले तिनै सुकेका पाइपमाथि जबर्जस्ती चापाकल (ह्यान्डपम्प) जडान गरेर पसिना बगाउँदै पानी निकाल्न बाध्य छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ठोरी, जिराभवानी र जगरनाथपुर गाउँपालिकाका विभिन्न स्थानमा नदी, खोला, चापाकल तथा बोरिङसमेत सुकेका छन् । ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चनका अनुसार वडाभरिका अधिकांश चापाकलहरू काम नलाग्ने भएका छन् । सरकारले लाखौँ रुपैयाँ खर्चेर जडान गरेका सोलार बोरिङ तथा ७०–७५ फिट गहिराइका सामान्य बोरिङसमेत पानी तान्न नसकेर सञ्चालनविहीन बनेका छन् ।
आकासे पानीको भरमा खेती गर्ने पर्साका हजारौँ किसान अहिले आकाशतिर हेरेर बस्न बाध्य छन् । समयमै सिँचाइ गर्न नपाउँदा किसानहरूले दुःख गरेर राखेको धानको ब्याड (बीउ) खेतमै सुक्न थालेको छ ।
जगरनाथपुर गाउँपालिका–५ चिलझप्टीका किसान नागेन्द्र साहले आफ्नो पीडा सुनाउँदै भने, “पाँच कट्ठा खेतका लागि तयार गरिएको धानको ब्याड सिँचाइ अभावमा खेतमै सुक्यो। रोपाइँका लागि तयार गरेको बीउ पानी नपाएर जलेपछि मर्नु न बाँच्नु भएर ब्याडमै ट्याक्टर लगाएर जोत्नुपरेको छ।”
अहिले यस क्षेत्रमा ४०० देखि ५०० फिट गहिराइका ‘डिप बोरिङ’ मात्र जेनतेन सञ्चालनमा छन् । तर, तिनबाट समेत पहिलेको तुलनामा निकै कम पानी आउन थालेको छ । सिँचाइका लागि पानी अपुग भएपछि किसानहरूले आपसी सहमतिमा आलोपालो प्रणाली (पालो बाँधेर) अपनाई निकै कष्टका साथ थोरै भूभागमा मात्र धान रोपाइँ गरिरहेका छन् ।
लगातारको खडेरी र वर्षाको अभावका कारण पर्सामा खानेपानीको संकटसँगै यस वर्ष खाद्यान्न उत्पादनमा समेत ह्रास आउने चिन्ता बढ्दै गएको छ ।



















