Logo

२५ असार, सिरहा ।  सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आईरहेको मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बसले सोही दिशाबाट जाँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राजमार्गमा गुडिरहेको स्कुल बस चोहर्वा चोक नजिकैबाट एक्कासि उत्तरतर्फ रहेको गोविन्दपुर सडक खण्डतर्फ मोडिएपछि दुर्घटना भएको हो । बसले अचानक दिशा परिवर्तन गरेपछि पछाडिबाट सोही दिशामा आइरहेको मोटरसाइकल अनियन्त्रित भई बसको मध्यभागमा ठोकिन पुगेको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउने मोटरसाइकल चालक युवकको उमेर करिब २५ वर्ष अनुमान गरिए पनि उनको खल्ती वा साथबाट कुनै परिचयपत्र फेला नपरेकाले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सिरहाकै मिर्चैया नगरपालिका–५ का २४ वर्षीय शङ्ख रिहान र सोही ठाउँका १९ वर्षीय यनतियाज राइन गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय भूमिजा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारले दुर्घटनालगत्तै स्कुल बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । तीव्र गति र लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।


सम्बन्धित समाचार
भर्खरै