Logo

२८ असार, काठमाडौं । अमेरिकाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण गरेको घोषणा गरेको छ ।

त्यसलगत्तै इरानले बहराइन, कुवेत, जोर्डन, कतार, ओमान तथा संयुक्त अरब इमिरेट्स (यूएई) लक्षित मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यूएईले भने आफ्नो वायु सुरक्षाले इरानी मिसाइल र ड्रोनहरूलाई बीचमै खसालेको जनाएको छ ।

अमेरिकाले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको एउटा कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ । इरानले खाडी राष्ट्रहरूले अमेरिकी सेनालाई सहयोग गरिरहेको आरोप लगाएको छ । यद्यपि, खाडीका देशहरूले आफूहरू अमेरिका–इरान द्धन्द्धमा कुनै पक्षमा नरहेको बताएका छन् ।

इरानको सरकारी प्रसारण संस्था आईआरआईबीका अनुसार, इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले ओमानको दुक्म बन्दरगाहमा रहेका अमेरिकी विमानवाहक जहाजहरूले प्रयोग गर्ने लजिस्टिक सहायता केन्द्र र इन्धन आपूर्ति पूर्वाधारमाथि भारी तथा आकस्मिक आक्रमण गरेको दाबी गरेको छ ।

यसैबीच, संयुक्त अरब इमिरेट्सले ठूलो संख्यामा आएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाइरहेको जनाएको छ । बहराइनबाट पनि यस्तै गतिविधिको जानकारी आएको अलजजिराले जनाएको छ ।

दुवै देशका अधिकारीहरूले नागरिकहरूलाई घरभित्रै बस्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् ।कतार सरकारले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न, झ्याल तथा खुला स्थानबाट टाढा रहन अनुरोध गरेको छ ।

कुवेती सेनाले पनि आफूहरूले शत्रुतापूर्ण हवाई लक्ष्यहरूलाई अवरोध गरी नष्ट गरिरहेको जनाएको छ ।आईआरजीसीले होर्मुज जलमार्गमा नियम उल्लंघन गर्ने दोस्रो जहाजमाथि पनि आक्रमण गरी नियन्त्रणमा लिएको दाबी गरेको छ ।

साथै, अमेरिका र इजरायलका सैन्य कारबाही जारी रहे आफ्नो प्रतिक्रिया झन् विनाशकारी हुने चेतावनी दिएको छ ।

आईआरजीसीले अर्को विज्ञप्ति जारी गर्दै कतारस्थित अल उदेद वायुसेना अखडामा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ । विज्ञप्तिअनुसार उक्त आक्रमणमा लडाकु विमान मर्मत केन्द्र र कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको दाबी गरिएको छ ।

यद्यपि, कतारको रक्षा मन्त्रालयले भने आफ्नो वायु प्रतिरक्षा प्रणालीले कतारी भूभाग लक्षित मिसाइल आक्रमण सफलतापूर्वक बीचमै रोकिएको र कुनै ठूलो क्षति नभएको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै