Logo

२८ असार, काठमाडौं । महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव तीन दिन बितिसक्दा पनि उठ्न सकेको छैन ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्वील लक लगाएको विषयलाई लिएर महानगर प्रहरीसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

आत्मदाहको प्रयासबाट गम्भीर घाइते भएका नेपालीको भोलिपल्ट वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हाल उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

पीडित परिवार र सरकार पक्षबीच पटक(पटक वार्ता भए पनि हालसम्म कुनै सहमति हुन नसक्दा शव उठ्न नसकेको हो । न्यायको माग गर्दै मृतकका बुबाआमा र दाजु मदन नेपाली काठमाडौं आइपुगेका छन् । शनिबार रातिदेखि आइतबार बिहानसम्म लामो समय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

प्रशासन स्रोतका अनुसार सहमति जुटाउने प्रयास भइरहे पनि विभिन्न कारणले वार्ता टुङ्गोमा पुग्न सकेको छैन ।
यसैबीच, मृतकका परिवारलाई बबरमहलस्थित सीडीओ कार्यालय नजिकैको एउटा भवनमा सुरक्षा घेराभित्र राखिएको छ ।

बाहिरका मानिसहरूसँग सम्पर्क गर्न नदिई कडा निगरानीमा राखिएको मृतकका दाजु मदनले बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले उनीहरूलाई भेटेका थिए, तर ठोस सहमति अझै हुन सकेको छैन ।

प्रशासनले भने समस्या समाधानका लागि पुनः छलफल अगाडि बढाउने तयारी गरिरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै